काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल र भारतबीचको आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरेको छ ।
प्रधानमन्त्री शाह दुईदिने औपचारिक भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेपछि रास्वपाले शुभकामना सन्देश जारी गर्दै भ्रमण सफलताको कामना गरेको हो ।
रास्वपा महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा भ्रमणले दुई देशबीच विद्यमान ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको उल्लेख छ ।
‘यस भ्रमणले दुई देशबीच विद्यमान ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
भ्रमणका अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारी रहेको रास्वपाले जनाएको छ ।
प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणबारे पार्टी सभापति रवि लामिछानेलाई विस्तृत जानकारी गराउनुका साथै छलफलसमेत गरेको रास्वपाले जनाएको छ ।
विज्ञप्तिमा सभापति लामिछानेले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन यो भ्रमण कोसेढुंगा बन्ने विश्वास व्यक्त गरेको उल्लेख छ ।