भोटेकोशी बाढीबाट विस्थापित त्रिविका विद्यार्थीको १६ शीर्षकका शुल्क मिनाहा

५ घण्टा अगाडि
भोटेकोशी बाढीबाट विस्थापित त्रिविका विद्यार्थीको १६ शीर्षकका शुल्क मिनाहा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले रसुवा भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित विद्यार्थीको १६ शीर्षकका शुल्क मिनाहा गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालयले बाढी प्रभावित जिल्लाका वार्षिक तथा सेमेस्टर प्रणालीमा अध्ययनरत र आगामी शैक्षिक सत्रमा नयाँ भर्ना हुन चाहने विद्यार्थीलाई शुल्क छुट दिने निर्णय गरेको हो ।

त्रिविका प्रवक्ता नविन्द्र भण्डारीका अनुसार सम्बन्धित स्थानीय तहको सिफारिसका आधारमा विद्यार्थीले शुल्क मिनाहाको सुविधा पाउनेछन् । धरौटी र परीक्षा शुल्कबाहेकका तोकिएका शुल्क मिनाहा हुने उनले जानकारी दिए ।

त्रिविले यससम्बन्धी निर्णय कार्यान्वयन गर्न सम्पूर्ण आंगिक क्याम्पस, केन्द्रीय विभाग तथा केन्द्रहरूलाई निर्देशन दिएको छ ।

मिनाहा हुने शुल्कमा क्याम्पस प्रवेश, विश्वविद्यालय दर्ता, शिक्षण, परिचयपत्र, खेलकुद, प्रयोगशाला, पुस्तकालय, परीक्षा, छात्रावास, जरिबाना, शोधपत्र तथा विविध शुल्क रहेका छन् । त्यस्तै पुस्तकालय, छात्रावास, प्रयोगशाला र विविध विद्यार्थी धरौटी शुल्कसमेत मिनाहा हुने त्रिविले जनाएको छ ।

बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका विद्यार्थी प्रभावित भएका छन् । ती जिल्लाका तोकिएको शैक्षिक सत्रमा भर्ना भई अध्ययन गरिरहेका तथा आगामी शैक्षिक सत्रमा भर्ना हुन योग्यता पुगेका विद्यार्थीले यो सुविधा पाउनेछन् ।

त्रिविका अनुसार शुल्क मिनाहासम्बन्धी व्यवस्था आर्थिक वर्ष २०८३/८४ देखि २०८७/८८ सम्म पाँच शैक्षिक वर्षका लागि लागू हुनेछ । यसको कार्यान्वयन सम्बन्धित क्याम्पस तथा विभागमार्फत हुनेछ ।