प्रधानमन्त्री बालेन भारत प्रस्थान, मोदीसँग सोमबार द्विपक्षीय वार्ता

५ घण्टा अगाडि
प्रधानमन्त्री बालेन भारत प्रस्थान, मोदीसँग सोमबार द्विपक्षीय वार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने औपचारिक भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँ दिल्ली गएका हुन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा ३५ सदस्य छन् । टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकारलगायत नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी छन् ।

भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहले आइतबार साँझ ६ बजे नयाँ दिल्लीस्थित होटल ताजमहलमा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्नेछन् ।

सोमबार बिहान १० बजे राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत तथा भेटघाटको कार्यक्रम छ । त्यसपछि उनी महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन् ।

राजघाटको कार्यक्रमपछि प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता हुनेछ । दुई प्रधानमन्त्रीबीचको भेटपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।

सोमबार मध्याह्न १२ बजेर २५ मिनेटमा दुई देशबीच सहमति तथा सम्झौतापत्र आदानप्रदान र संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम तय गरिएको छ ।

भ्रमणका क्रममा नेपाल–भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्याससमेत हुनेछ ।

प्रधानमन्त्री शाहको भ्रमणमा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधार विकासलगायत क्षेत्रमा आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल हुनेछ । त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ ।

भ्रमणकै क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रम पनि आयोजना हुनेछ ।

प्रधानमन्त्री शाहले सोमबार दिउँसो सवा ३ बजे राष्ट्रपति निवासमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्नेछन् । त्यसपछि उनी अपराह्न ४ बजेर ५० मिनेटमा नयाँ दिल्लीबाट स्वदेश फर्किने कार्यक्रम छ ।