काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन् ।
प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित उडानबाट आइतबार दिउँसो नयाँ दिल्ली पुगेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका शाहलाई विमानस्थलमा विभिन्न सांस्कृतिक झाँकीसहित स्वागत गरिएको थियो ।
विमानस्थलमा स्वागतपछि भारतीय राज्यमन्त्री प्रसादले प्रधानमन्त्री शाहलाई भारतको स्थानीय नृत्यसमेत अवलोकन गराएका थिए । त्यसपछि शाह मर्सिडिज गाडीमा नयाँ दिल्लीस्थित होटल ताजमहल पुगेका छन् । उनी भ्रमण अवधिभर यही होटलमा बस्नेछन् ।
प्रधानमन्त्री शाहले आइतबार साँझ ६ बजे भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । विदेशमन्त्री जयशंकर प्रधानमन्त्री शाहलाई भेट्न होटलमै पुग्नेछन् ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार सहभागी छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । त्यस्तै, भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ ।
दुई देशका उच्च सरकारी नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत क्षेत्रमा आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल हुनेछ।
त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायत क्षेत्रका समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ ।
प्रधानमन्त्री शाहले भारतको राजकीय भ्रमण सम्पन्न गरी सोमबार साँझ ६ बजेर ३५ मिनेटमा नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्किने कार्यतालिका छ।