मुस्ताङ । नेपाल-चीन सीमा नाका कोरलाबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन (ईभी) नेपाल भित्रिएका छन् । रसुवागढी नाका बाढीका कारण बन्द भएपछि कोरलानाकाबाट विद्युतीय गाडीलगायतका सामान आयात बढेको हो ।
मुस्ताङ भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षभरि उक्त नाकाबाट तीन हजार २२३ वटा विद्युतीय सवारीसाधन भित्रिएका थिए । तर चालु आर्थिक वर्षको पहिलो चार महिनामै गत वर्षको कुल आयातभन्दा दोब्बरभन्दा बढी विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।
भन्सार कार्यालयका अनुसार साउनमा एक सय, भदौमा एक हजार २५३ तथा असोज र कात्तिकमा पाँच हजार ६४७ वटा विद्युतीय सवारीसाधन आयात भएका हुन् ।
भन्सार अधिकृत अमिन्द्र सिंहका अनुसार गत भदौ १० गते रसुवाको भोटेकोशी बाढीका कारण रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि विद्युतीय सवारीसाधनसहितका मालवस्तु कोरलानाका हुँदै आउन थालेका हुन् ।
तर, कोरलाबाट आयात भएका सवारीसाधनलाई गन्तव्यसम्म पुर्याउन भने चुनौती देखिएको छ । जोखिमपूर्ण सडक र दक्ष चालकको अभावका कारण भन्सार जाँचपास भइसकेका दर्जनौँ विद्युतीय सवारीसाधन अझै सडकमा अलपत्र अवस्थामा रहेको भन्सार कार्यालयले जनाएको छ ।
कोरलानाकाबाट आयात बढेसँगै मुस्ताङ भन्सार कार्यालयको राजस्व संकलनमा पनि उल्लेख्य वृद्धि भएको छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा १२ अर्ब ५५ करोड १४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । जबकि कार्यालयको वार्षिक राजस्व संकलन लक्ष्य नौ अर्ब रुपैयाँ मात्रै छ ।
यसरी चार महिनामै वार्षिक लक्ष्यभन्दा तीन अर्ब ५५ करोड १४ लाख रुपैयाँ बढी राजस्व संकलन भएको भन्सार अधिकृत सिंहले जानकारी दिए ।
पहिलो चौमासिकमा चीनबाट ३० अर्ब नौ करोड नौ लाख रुपैयाँ मूल्य बराबरका मालवस्तु आयात भएका छन् । कोरलानाका हुँदै मुख्य रूपमा विद्युतीय सवारीसाधन, लत्ताकपडा, कस्मेटिक सामग्री, विद्युतीय उपकरण, निर्माण सामग्री, फलफूल र खाद्यान्न आयात हुने गरेको छ ।
यसै अवधिमा नेपालबाट २९ करोड ५२ लाख रुपैयाँभन्दा बढी मूल्यका वस्तु चीनतर्फ निर्यात भएका छन् । भन्सार अधिकृत सिंहका अनुसार नेपालबाट मुख्य रूपमा हस्तकलाका सामग्री तथा अन्य नेपाली उत्पादन चीनतर्फ निकासी हुने गरेका छन् ।