नेपालमा निर्धक्क लगानी गर्न भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आह्वान

२१ मिनेट अगाडि
नेपालमा निर्धक्क लगानी गर्न भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आह्वान
नयाँदिल्ली । प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन्।

आइतबार नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’लाई सम्बोधन गर्दै उनले सूचना प्रविधि, जलविद्युत् र सम्पर्क सञ्जालजस्ता क्षेत्रमा नयाँ लगानी गर्न तथा नेपालमा भइरहेको लगानी विस्तार गर्न आग्रह गरेका हुन्।

‘सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न म भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गर्दछु,’ उनले भने, ‘नेपालमा लगानी गरेकाहरूले लगानी विस्तार गर्नुहोस् । नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र सम्भावना भएको ठाउँ हो।’

वाग्लेले नेपालमा लगानी बढाउन सरकारले कानुनी सुधारलाई सरल र लगानीमैत्री बनाउँदै लगेको पनि बताए। लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ता लैजान आवश्यक कानुनी सहजीकरणका लागि सरकारले विशेष पहल गरिरहेको उनको भनाइ थियो।

कार्यक्रममा भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिन प्रसाद र सीआईआई अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा. विक्रमजित सिंह साहनीलगायतले पनि सम्बोधन गरेका थिए।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा सहभागी नेपाली उद्योगी तथा व्यवसायीसहित डेढ दर्जन भारतीय उद्योगी–व्यवसायी र प्रतिष्ठित भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको कार्यक्रममा सहभागिता थियो।