बालेन र जयशंकरबीच भेटवार्ता, कनेक्टिभिटीदेखि ऊर्जा सहकार्यासम्म छलफल
४१ मिनेट अगाडि
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच आइतबार साँझ नयाँ दिल्लीमा शिष्टाचार भेटवार्ता भएको छ ।
नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटका क्रममा विशेषगरी दुई देशबीचको सम्पर्क सञ्जाल (कनेक्टिभिटी), व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्ध विस्तारका विषयमा कुराकानी भएको थियो ।
त्यसैगरी, विद्यमान द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि दुवै पक्षबीच छलफल भएको सचिवालयले जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत पुगेका हुन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । मोदीसँगको भेटमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता तथा विभिन्न समझदारी र सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ ।
प्रधानमन्त्री शाह सोमबार साँझ नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्किने कार्यक्रम छ ।