काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बंगालको खाडीको मध्य-पश्चिम भू-भाग आसपास रहेको न्यून चापीय क्षेत्र आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना छ।
मंगलबार बिहान मौसमसम्बन्धी जानकारी सार्वजनिक गर्दै महाशाखाले उक्त प्रणाली बलियो न्यून चापीय क्षेत्रका रूपमा विकसित हुन सक्ने जनाएको हो।
महाशाखाका अनुसार मंगलबार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यस्तै, कोसी र वाग्मती प्रदेशका तराई भू–भागका साथै मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।
यसैगरी, मंगलबार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।
रातिको समयमा मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोसी र वाग्मती प्रदेशका पहाडी भू–भाग तथा मधेस प्रदेशका एक–दुई स्थानमा राति भारी वर्षा हुन सक्ने भएकाले सम्बन्धित क्षेत्रमा सतर्कता अपनाउन आवश्यक देखिएको छ।