त्रिपुरेश्वर बस आगलागीमा घाइते चालक लामाको मृत्यु

४ घण्टा अगाडि
त्रिपुरेश्वर बस आगलागीमा घाइते चालक लामाको मृत्यु

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका बस चालक दावा लामाको मृत्यु भएको छ।

काभ्रेको पनौती नगरपालिका–का २५ वर्षीय लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको हो। अस्पतालका बर्न प्लास्टिक सर्जन डा. शंकरमान राईका अनुसार लामाको सोमबार साँझ नै मृत्यु भएको हो।

प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले पनि लामाको मृत्यु भएको पुष्टि गरेका छन्। उनका अनुसार लामाको साँझ करिब सवा ७ बजे मृत्यु भएको थियो।

सोमबार दिउँसो करिब साढे १२ बजे त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाने बस स्ट्यान्डमा रोकिराखेको रिद्धिसिद्धि यातायातको बा.५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो।

प्रहरीका अनुसार ट्राफिक प्रहरीसँग सामान्य विवाद भएपछि चालक लामाले आफैं बसमा आगो लगाएको प्रारम्भिक विवरण आएको छ। आगलागीका बेला बसमा यात्रु भने थिएनन्।

आगो लगाउने क्रममा लामासमेत गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि कीर्तिपुर अस्पतालको बर्न युनिटमा लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

घटनाको सत्यतथ्य पत्ता लगाउन काठमाडौं जिल्ला प्रशासन कार्यालयले सात सदस्यीय छानबिन समिति गठन गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको संयोजकत्वमा गठित समितिमा प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक नरेश सिंह, ट्राफिक प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौंका प्रमुख अनुसन्धान अधिकृत सुरेश केसी, सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका प्रतिनिधि धर्मराज रिमाल, नेपाल यातायात स्वतन्त्र मजदुरका प्रतिनिधि भीम ज्वाला राई र रिद्धिसिद्धि यातायात प्रालिका लव केसी सदस्य रहेका छन्।

समितिले घटनाको कारण, आगलागीको अवस्था तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे छानबिन गर्नेछ।