नेप्से ७ अंकले बढ्यो, ७ अर्बभन्दा बढीको कारोबार

१० घण्टा अगाडि
नेप्से ७ अंकले बढ्यो, ७ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ७.०६ अंकले बढेको छ। ०.२६ प्रतिशतले बढेको नेप्से २६५४.२८ विन्दुमा पुगेर बन्द भएको हो।

सरकारले घटाएको पुँजीगत लाभकर असोज ५ गते राजपत्रमा प्रकाशन भएर कार्यान्वयनमा आएपछि कारोबार बढ्ने अपेक्षा गरिए पनि बजारमा त्यसको ठूलो प्रभाव देखिएन।

मंगलबार ३५६ कम्पनीका २ करोड १५ लाख ८९ हजार ७६१ कित्ता सेयर किनबेच भएका छन्। कुल कारोबार रकम ७ अर्ब ५ करोड ३९ लाख ९८ हजार ६२४ रुपैयाँ पुगेको छ। दिनभर ७० हजार ६९१ पटक कारोबार भएको नेप्सेले जनाएको छ।

१३८ कम्पनीको सेयर मूल्य बढ्दा १३० कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रह्यो। सबैभन्दा बढी कारोबार हुने कम्पनीमा हाथवे इन्भेस्टमेन्ट, हिमालयन डिस्टिलरी, घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी र कुमारी बैंक रहेका छन्।

स्नो रिभर लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक र बोटलर्स नेपालका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।

यसअघि साताको पहिलो कारोबार दिन सोमबार ब्रोकर कम्पनीहरूको टीएमएस होस्ट गर्ने डेटा हबमा प्राविधिक समस्या देखिएपछि सेयर कारोबार स्थगित गरिएको थियो।