काठमाडौं । देशभर हाल मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बंगालको खाडीको पश्चिम-मध्य भू-भाग आसपास रहेको न्यून चापीय क्षेत्र आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना छ।
महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ। कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, ती प्रदेशका उच्च हिमाली तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मधेस प्रदेश तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
विशेषगरी कोसी र वाग्मती प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
बंगालको खाडी आसपास विकसित भइरहेको न्यून चापीय प्रणाली आगामी दिनमा थप सक्रिय हुने भएकाले देशका विभिन्न भू-भागमा वर्षाको गतिविधि बढ्न सक्ने मौसमविद्हरूले बताएका छन्।