काठमाडौं । काठमाडौंको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा बुधबारदेखि औपचारिक रूपमा सुरु भएको छ। जात्राको सुरुवातसँगै हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव अगाडि विधिपूर्वक इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएको छ।
लिङ्गो ठड्याएसँगै विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम सुरु भएका छन्। परम्परागत बाजागाजासहित पूजा तथा धार्मिक विधि सम्पन्न गरिएको छ।
इन्द्रजात्राका क्रममा इन्द्र, भैरव, गणेश र कुमारीको पूजा तथा रथयात्रा गरिन्छ। कुमारी, गणेश र भैरवको रथ काठमाडौंका विभिन्न टोलमा परिक्रमा गराउने परम्परा छ। लाखे नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक प्रदर्शन पनि जात्राका प्रमुख आकर्षण हुन्।
इन्द्रजात्राका कारण हनुमानढोका र वसन्तपुर क्षेत्रमा चहलपहल बढेको छ। जात्रा अवलोकन गर्न स्थानीयसँगै स्वदेशी तथा विदेशी पर्यटकको भीड लागेको छ।