काठमाडौं । दक्षिण कोरियाले होर्मुज जलमार्गमा जहाज आवतजावतको सुरक्षा तथा स्वतन्त्रताका लागि सैन्य उपकरण र सुरक्षा बल पठाउने तयारी गरेको समाचार सार्वजनिक भएको छ।
दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले सरकारी तथा सैन्य स्रोतलाई उद्धृत गर्दै यो मिसन यसै वर्ष सुरु गर्ने तयारी भइरहेको जनाएका छन्।
समाचारअनुसार योजनालाई अघि बढाउन आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै संसद्को स्वीकृति लिने तयारी भइरहेको छ। मन्त्रिपरिषद्मा योजनाको समीक्षा गरेपछि सरकारले यसै महिना संसद्मा औपचारिक प्रस्ताव पेस गर्ने तयारी गरेको जनाइएको छ।
यस विषयमा दक्षिण कोरियाली सरकारी अधिकारीहरूले भने हालसम्म औपचारिक प्रतिक्रिया दिएका छैनन्।
यसअघि दक्षिण कोरियाले अमेरिका–इरान युद्ध समाप्त भएपछि मात्रै होर्मुज क्षेत्रमा सेना परिचालनबारे विचार गर्ने बताएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी युद्ध प्रयासलाई पर्याप्त समर्थन नगरेको भन्दै दक्षिण कोरियाको आलोचना गरेपछि उसको नीतिमा परिवर्तन आएको दाबी गरिएको छ।
होर्मुज जलमार्गमा जहाजको सुरक्षा र आवतजावत सुनिश्चित गर्न विभिन्न देशहरूले पनि वैकल्पिक उपाय तथा सुरक्षा व्यवस्थाबारे छलफल गरिरहेका छन्।