कृष्णभीरमा सडक बन्द भए पनि तीन दिनमा उपत्यका भित्रियो ८७ हजारभन्दा बढी ग्यास सिलिन्डर

२ हप्ता अगाडि
कृष्णभीरमा सडक बन्द भए पनि तीन दिनमा उपत्यका भित्रियो ८७ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा पहिरो गएर मुख्य सडक अवरुद्ध भए पनि वैकल्पिक मार्गबाट पछिल्लो तीन दिनमा काठमाडौं उपत्यकामा ८७ हजार ८७७ थान खाना पकाउने एलपी ग्यास सिलिन्डर भित्रिएको छ।

नेपाल आयल निगमले सडक अवरुद्ध हुँदा ग्यास आपूर्तिमा पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै तराईका उद्योगबाट ग्यास रिफिल गराएर वैकल्पिक मार्ग हुँदै उपत्यकामा ल्याउने व्यवस्था मिलाएको जनाएको छ।

निगमका अनुसार भदौ १८ गते २४ हजार ४९४, १९ गते ३४ हजार १३४ र २० गते २९ हजार २४९ सिलिन्डर काठमाडौं ल्याइएको छ।

काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकका ग्यास उद्योगका सिलिन्डर अर्को व्यवस्था नभएसम्म बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगमा रिफिल गरी वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था गरिएको निगमले जनाएको छ।

यसरी उपत्यका भित्रिएका ग्यासमा श्री, सूर्य, ओम, श्रीराम, सगर, साईबाबा/श्रीकृष्ण, श्रीमाया, लोकप्रिय, एभरेस्ट/सुगम, नेपाल, एचपी, एसटीसी, सिद्धार्थ, हिमाल, सीताश्री र नमस्ते ब्रान्डका सिलिन्डर रहेका छन्।

निगमका अनुसार विभिन्न १६ उद्योगका ग्यास वैकल्पिक मार्गबाट निरन्तर भित्रिरहेका छन्।

पृथ्वी राजमार्गको कृष्णभीर खण्ड नियमित सञ्चालनमा नआएसम्म यही वैकल्पिक प्रक्रियाबाट ग्यास आपूर्ति तथा बिक्री वितरणलाई निरन्तरता दिइने निगमले जनाएको छ।