काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
पोर्टो रिकोको सान जुआनस्थित लुइस मुनोज मारिन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको बोइङ ७६७–३०० कार्गो विमान स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे मियामी विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिरिएको थियो ।
विमान करिब २०९ किलोमिटर प्रतिघण्टाको गतिमा रनवेबाट बाहिरिएको बताइएको छ । रनवेबाट बाहिरिएपछि विमानले कैयौँ सवारीसाधनलाई ठक्कर दिएको थियो । त्यसपछि विमानमा भीषण आगलागी भएको थियो ।
दुर्घटनापछि विमानको अगाडिको भाग गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो । आगलागी नियन्त्रण तथा उद्धारका लागि घटनास्थलमा करिब २०० जना अग्निनियन्त्रक परिचालन गरिएको थियो ।
दुर्घटनामा घाइते पाँच जनामध्ये तीन जनालाई गम्भीर अवस्थामा स्थानीय ट्रमा सेन्टरमा भर्ना गरिएको छ भने अन्य दुई जनाको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाप्रति अमेजनले दुःख व्यक्त गरेको छ । अमेजनकी प्रवक्ता केली नान्टेलले विज्ञप्ति जारी गर्दै घटनाबाट आफूहरू अत्यन्त दुःखी भएको बताएकी छन् । उनले मृतकका परिवार तथा दुर्घटनाबाट प्रभावित सबैप्रति अमेजनका तर्फबाट समवेदना व्यक्त गरेकी छन् ।
दुर्घटनाको कारणबारे सम्बन्धित निकायले अनुसन्धान थालेका छन् ।