चितवन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला क्षेत्रमा आज (सोमबार)देखि दैनिक १२ घण्टा सवारीसाधनको आवागमन आंशिक रूपमा रोकिने भएको छ।
तुइन खोला परियोजनाअन्तर्गत सडकको भित्तो काट्ने (माटो कटान) कामलाई तीव्रता दिन जिल्ला प्रशासन कार्यालय चितवनले यस्तो व्यवस्था गरेको हो। कृष्णभिरमा सडक मर्मत कार्य जारी रहेकाले त्यसको समयको सदुपयोग गर्दै तुइन खोला क्षेत्रमा निर्माण कार्य अघि बढाउन सवारी आवागमनमा आंशिक रोक लगाइएको प्रशासनले जनाएको छ।
निर्धारित तालिकाअनुसार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म प्रत्येक दुई घण्टाको अवधिमा सवारीसाधन रोकिनेछ। त्यसबीच हरेक दुई घण्टापछि आधा घण्टा सडक खुला गरिनेछ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार मुग्लिन–काठमाडौँ सडकखण्डअन्तर्गत कृष्णभिरमा सडक मर्मत कार्य जारी छ। त्यहाँ नयाँ ट्र्याक खोलेर सवारी आवागमन सुचारु गर्न केही समय लाग्ने भएकाले उक्त सडकखण्डमा आवागमन बन्द छ।
कृष्णभिरमा सडक बन्द हुँदा नारायणगढ–मुग्लिन सडकखण्डमा समेत सवारीसाधनको चाप न्यून भएकाले यही अवधिको सदुपयोग गर्दै तुइन खोला परियोजनाको माटो कटान कार्य अघि बढाउन लागिएको प्रशासनले जनाएको छ।
कृष्णभिरमा सडक मर्मत सम्पन्न भई सवारी आवागमन नियमित नभएसम्म तुइन खोला क्षेत्रमा उक्त तालिकाअनुसार आंशिक रूपमा सडक बन्द गरिने प्रशासनको सूचनामा उल्लेख छ।
सडक निर्माण तथा माटो कटानका क्रममा जोखिम हुन सक्ने भएकाले यात्रुले सम्बन्धित तालिकालाई ध्यानमा राखी यात्रा गर्न तथा सम्भव भएसम्म वैकल्पिक समय मिलाउन आग्रह गरिएको छ।
