काठमाडौं । गृह मन्त्रालयले रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नरेन्द्र परियारलाई फिर्ता बोलाएको छ। भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै मन्त्रालयले परियारलाई फिर्ता बोलाएको हो।
रसुवाको नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कमलप्रसाद पाण्डेलाई पठाइएको गृह मन्त्रालयका एक कर्मचारीले जानकारी दिएका छन्।
परियारले रसुवाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेको दुई महिना पनि पूरा भएको थिएन। छोटो समयमै उनलाई मन्त्रालय फिर्ता बोलाइएको हो।
बाढीपछि जिल्लामा उत्पन्न संकट व्यवस्थापन, खोज तथा उद्धार, राहत वितरण तथा विभिन्न सरकारी निकायबीचको समन्वयमा जिल्ला प्रशासन कार्यालयको भूमिकामाथि प्रश्न उठ्दै आएको थियो।
यसैबीच, रसुवा भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुंगानाले समेत विपद्पछिको व्यवस्थापनमा जिल्ला प्रशासनको भूमिकामाथि सार्वजनिक रूपमै प्रश्न उठाएका थिए।
भोटेकोसीमा आएको बाढीका कारण रसुवामा ठूलो क्षति भएपछि खोज तथा उद्धार, प्रभावितको व्यवस्थापन, राहत वितरण र पुनःस्थापनाका काम चुनौतीपूर्ण बनेका थिए। यही क्रममा प्रशासनको समन्वय र कार्यसम्पादनलाई लिएर आलोचना बढेको थियो।
गृह मन्त्रालयले परियारलाई फिर्ता बोलाएसँगै अब रसुवाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी कमलप्रसाद पाण्डेले सम्हाल्ने भएका छन्।