अमेरिकाद्वारा इरानका पाँच तेल ट्यांकरमा हमला, खाडी क्षेत्रमा तनाव

२ दिन अगाडि
अमेरिकाद्वारा इरानका पाँच तेल ट्यांकरमा हमला, खाडी क्षेत्रमा तनाव

काठमाडौं । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले इरानका पाँचवटा कच्चा तेल बोकेका ट्यांकरमाथि हमला गरी ध्वस्त पारेको दाबी गरेको छ। ओमानको खाडी र खार्ग टापुनजिकै ती ट्यांकरमाथि कारबाही गरिएको सेन्टकमले जनाएको हो।

सेन्टकमका अनुसार पछिल्ला दुई दिनमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले अमेरिकी नौसेनाका युद्धपोतलाई दुईपटक ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि त्यसको जवाफस्वरूप ट्यांकरमाथि कारबाही गरिएको हो।

अमेरिकी सेन्टकमले ती ट्यांकरहरू आईआरजीसी तथा उसका क्षेत्रीय सहयोगी समूहलाई आर्थिक सहयोग पुर्‍याउने अर्बौं डलरको ‘छद्म सञ्जाल’सँग जोडिएको दाबी गरेको छ। इरानसँग ती जलपोतको रक्षा गर्ने पर्याप्त क्षमता नरहेको दाबीसमेत सेन्टकमले गरेको छ।

यसअघि सेप्टेम्बर ५ मा पनि आईआरजीसीले अमेरिकी विमानवाहक युद्धपोत र निर्देशित क्षेप्यास्त्र प्रहार गर्ने डिस्ट्रोयरमाथि आक्रमणको प्रयास गरेको अमेरिकी पक्षले जनाएको थियो। उक्त आक्रमण असफल भएको दाबी गर्दै सेन्टकमले त्यसको जवाफमा तीनवटा इरानी तेल ट्यांकर ध्वस्त पारेको जनाएको थियो।

यता, इरानले अमेरिकी आक्रमणमा हालसम्म कुनै मानवीय क्षति नभएको जनाएको छ। यद्यपि, आईआरजीसीले कम्तीमा दुईवटा ट्यांकरमा क्षति पुगेको स्वीकार गरेको बताइएको छ।

अमेरिकी कारबाहीको कडा प्रतिकार गर्ने चेतावनी दिँदै इरानले छिमेकी मुलुकमा रहेका अमेरिकी सैन्य आधारहरूलाई समेत निशाना बनाउन सक्ने चेतावनी दिएको छ।

यसैबीच, इरानले कुवेत र बहराइनको तटीय क्षेत्रमा रहेका तेल ट्यांकरका चालक दलका सदस्यलाई सम्भावित सैन्य कारबाहीअघि जहाज तत्काल खाली गर्न चेतावनी दिएको छ।

इरानको यस्तो चेतावनीसँगै खाडी क्षेत्रमा रहेका व्यावसायिक जलपोत तथा विश्वव्यापी ऊर्जा आपूर्तिको सुरक्षालाई लिएर थप चिन्ता बढेको छ। पछिल्लो घटनाक्रमले अमेरिका–इरान तनाव थप चर्किन सक्ने संकेत देखिएको छ।