मौसम पूर्वानुमान

आज पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

एक घण्टा अगाडि
आज पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो र राति दुवै समयमा विभिन्न प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

विभागका अनुसार दिउँसो कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभाग, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति कोसी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना छ। कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तथा मधेस, वाग्मती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने विभागले जनाएको छ।

राति देशभर साधारणतया बादल लाग्नेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी, राति तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। कोसी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपास रहेको विभागले जनाएको छ।

मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षाको गतिविधि जारी रहने भएकाले भारी वर्षा हुने सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने तथा पहाडी क्षेत्रमा पहिरो र तराईका केही स्थानमा डुबानको जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउनुपर्ने देखिएको छ।