काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक लामो समयपछि शुक्रबार बसे पनि पेस हुने भनिएका प्रतिवेदनमाथि कुनै छलफल हुन सकेन।
कार्यदलका संयोजक तथा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा पार्टी कार्यालयमा बसेको बैठक औपचारिकतामै सीमित भएको कार्यदल सदस्य यामलाल कँडेलले बताएका छन्।
उनका अनुसार बैठक प्रारम्भ भए पनि प्रतिवेदनका विषयमा छलफल प्रवेश गरेन र बैठक भोलिदेखि निरन्तरता दिने गरी स्थगित भयो। अर्का सचिव महेश बस्नेतले पनि प्रतिवेदन अध्ययन गरेपछि मूल विषयमा छलफल गर्ने गरी बैठक सकिएको र शनिबार पुनः बैठक बस्ने जानकारी दिएका छन्।
कार्यदलका सदस्य सचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदन यसअघि कार्यदलमै पर्याप्त छलफल नभई नेतृत्वलाई बुझाइएको भन्दै आलोचना भएको थियो। नेतृत्वको निर्देशनमा प्रतिवेदन पुनः लेखन गरिएको विषय पनि चर्चामा छ। यही पृष्ठभूमिमा बसेको शुक्रबारको बैठकलाई एमालेभित्रको समीक्षा र पुनर्गठन प्रक्रियाका दृष्टिले चासोका साथ हेरिएको छ।