बालेन र न्युजिल्यान्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

१४ घण्टा अगाडि
बालेन र न्युजिल्यान्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच शुक्रबार टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्र पारिएको जानकारी दिए।

प्रधानमन्त्री शाहले बाढीपछि बेपत्ता भएका नागरिकको खोजीलाई सरकारले प्राथमिकतामा राखेको पनि बताए। उनले विपद्को समयमा न्युजिल्यान्ड सरकारले उपलब्ध गराएको २० लाख न्युजिल्यान्ड डलर बराबरको मानवीय सहयोगप्रति कृतज्ञता व्यक्त गरे।

शाहले जलवायुजन्य विपद्का दृष्टिले नेपाल उच्च जोखिममा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा क्षति तथा नोक्सानीबापतको वित्तीय सहयोग जुटाउन न्युजिल्यान्ड सरकारको रचनात्मक सहयोगका लागि आग्रह गरे। न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनले भने नेपालमा भएको विनाशकारी बाढीप्रति आफ्नो सरकार र जनताका तर्फबाट समवेदना तथा ऐक्यबद्धता व्यक्त गरेका थिए।