काठमाडौं । नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको चर्चा भइरहेका बेला निवर्तमान सहमहामन्त्री, केन्द्रीय सदस्य र प्रदेश सभापतिसहित २५ नेताले पार्टी एकताका लागि साझा अपिल जारी गरेका छन्।
शुक्रबार बानेश्वरमा भएको छलफलपछि निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवनबहादुर शाही, रामहरि खतिवडा, नैनसिंह महर, गोविन्द भट्टराईलगायत २४ निवर्तमान केन्द्रीय सदस्य र बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले वक्तव्यमा हस्ताक्षर गरेका छन्।
‘देश र कांग्रेस जोड्ने अभियान’ चलाइरहेका महरका अनुसार सुरुमा नेताहरूबीच आन्तरिक छलफल भएको थियो। साझा अपिल तयार भएपछि सभापति गगन थापालाई पनि छलफलमा बोलाइएको थियो।
नेताहरूले देश गम्भीर संकटमा रहेको भन्दै कांग्रेसलाई एकताबद्ध बनाउन थापाको ध्यानाकर्षण गराएका छन्। उनीहरूले १५औँ महाधिवेशनको कार्यतालिका तत्काल स्थगित गर्न, दुवै पक्षबीच निर्णायक वार्ता थाल्न र अहंकार तथा व्यक्तिगत स्वार्थ त्यागेर सहमति र सहकार्यबाट विवाद समाधान गर्न माग गरेका छन्।
महरका अनुसार यसअघि शेरबहादुर देउवा र शेखर कोइरालालगायत नेतासँग पनि छलफल भएको थियो। थापाले आफू निरन्तर संवादमा रहेको र चाँडै देउवासँग भेटवार्ताको तयारीमा रहेको बताएका छन्।