काठमाडौं । निजी क्षेत्रको खस्किँदो मनोबल, लगानीको वातावरण र नीतिगत असहजता हटाउने विषयमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र उद्योगी-व्यवसायीबीच झण्डै दुई घण्टा छलफल भएको छ।
आधा घण्टाका लागि तय गरिएको बैठक लामो हुँदै दुई घण्टासम्म पुगेको थियो। छलफलमा चौधरी समूहका विनोद चौधरी, आईएमई समूहका चन्द्रप्रसाद ढकाल, लिटल एन्जल्स एजुकेसन ग्रुपका उमेश श्रेष्ठ र गोल्यान समूहका पवनकुमार गोल्यान सहभागी थिए।
भाटभटेनी समूहका मीनबहादुर गुरुङलाई पनि बोलाइए पनि स्वास्थ्यका कारण उनी उपस्थित भएनन्।
प्रधानमन्त्री शाहले निजी क्षेत्रका समस्या समाधान गर्न आवश्यक परे विद्यमान कानुन संशोधनदेखि नयाँ कानुन निर्माणसम्म गर्न तयार रहेको बताएका छन्। उनले अनाहकमा व्यवसायीलाई धरपकड नगर्ने र ढुक्क भएर लगानी विस्तार गर्न आग्रह गरेका थिए।
व्यवसायीहरूले लगानी गर्ने मनोबल निकै घटेको भन्दै शिक्षा, स्वास्थ्य, कृषि र उद्योगलगायत क्षेत्रका नीतिगत समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
प्रधानमन्त्रीले निजी क्षेत्रले देशको समृद्धिका लागि कुन क्षेत्रमा लगानी गर्न सक्छ भन्नेबारे लिखित खाका दिन आग्रह गरेका छन्।
सरकार र निजी क्षेत्रबीच निरन्तर छलफलका लागि स्थायी संयन्त्र बनाउने विषयमा पनि प्रधानमन्त्री सकारात्मक देखिएका छन्।
उनले रुग्ण सरकारी उद्योग केही समय सरकारले चलाए पनि अन्य क्षेत्रमा निजी क्षेत्रलाई नै अगाडि बढाउने बताएका छन्।