काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज पवित्र कुश घरघरमा भित्र्याएर कुशेऔँशी पर्व मनाउँदैछन्। देवकार्य तथा पितृकार्यमा प्रयोग हुने कुश शास्त्रोक्त विधिअनुसार पूजा गरी घरमा भित्र्याउने परम्परा छ।
प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशेऔँशीमा ब्राह्मणद्वारा पूजा गरी उखेलिएको कुश जजमानको घरमा राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आज उखेलिएको कुश वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गर्न सकिने मान्यता रहेको प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा मान्ने गर्छन्। धार्मिक विश्वासअनुसार सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेका थिए। कुशेऔँशीका दिन घरमा भित्र्याइएको कुश वर्षभर हुने देवकार्य तथा पितृकार्यमा प्रयोग गरिन्छ।
कुशेऔँशीलाई पितृसम्मान दिवसका रूपमा समेत मनाउने गरिन्छ। यस दिन छोराछोरीले आफ्ना जीवित बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाएर आदर–सम्मान प्रकट गर्ने र आशीर्वाद लिने परम्परा छ।
बाबु दिवंगत भइसकेकाहरूले भने विभिन्न पवित्र तीर्थस्थलमा पुगेर आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान, श्राद्ध तथा सिदादान गर्ने गर्छन्।
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुसार यस दिन जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाएर आशीर्वाद लिए सुख प्राप्त हुने विश्वास छ।
कुशेऔँशीका अवसरमा काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्ने गर्छ। उत्तरगयाका रूपमा समेत परिचित गोकर्णमा दिवंगत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्न श्रद्धालुको घुइँचो लाग्छ।
मेलाका लागि आवश्यक सबै तयारी पूरा गरिएको गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष तथा मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतले जानकारी दिए।
कुशेऔँशीका कारण आजको औँसीलाई गोकर्णे औँसीका नामले समेत चिनिन्छ।
रसुवा र नुवाकोटको संगमस्थल वेत्रावतीमा पनि कुशेऔँशीका अवसरमा मेला लाग्ने गर्छ। दिवंगत पितृका नाममा तर्पण, सिदादान तथा पिण्डदान गर्न श्रद्धालुहरू वेत्रावती पुग्ने गरेका छन्। तर यस वर्ष भोटेकोसीमा आएको बाढीका कारण वेत्रावतीमा मेला नलाग्ने भएको छ ।
धार्मिक मान्यताअनुसार कुशेऔँशीमा गरिने तर्पण, पिण्डदान तथा सिदादान विशेष पुण्यदायी मानिन्छ। बाबु परलोक भइसकेकाहरूले गोकर्ण वा अन्य तीर्थस्थलमा पुगेर तर्पण तथा सिदादान गरे पुण्य प्राप्त हुनुका साथै कुल स्थिर हुने ‘बुद्धोक्त पाराजिकाय’ नामक धर्मग्रन्थमा उल्लेख रहेको बताइन्छ।
यस दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल प्राप्त हुने धार्मिक विश्वास रहेकाले कुशेऔँशीलाई पुण्य पर्वका रूपमा समेत लिइन्छ।