इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको ट्रम्पको दाबी

एक महिना अगाडि
इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यको नजिक पुगेको दाबी गरेका छन्। उनले इरान अमेरिकासँग सम्झौता गर्न निकै आतुर रहेको बताएका छन्।

अमेरिकाको नर्थ क्यारोलिनामा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफू इरानी पक्षसँग प्रत्यक्ष सम्पर्कमा रहेको बताएका हुन्। पछिल्ला दिनमा इरानबाट कुनै सन्देश प्राप्त भएको छ कि छैन भन्ने प्रश्नमा उनले इरानसँग प्रत्यक्ष कुराकानी भइरहेको बताए।

युद्ध कुन चरणमा पुगेको छ भन्ने प्रश्नमा ट्रम्पले भने, “आशा छ, हामी युद्धको अन्तिम चरणतिर छौँ।”

उनले इरान सम्झौता गर्न निकै इच्छुक रहेको दोहोर्‍याउँदै भने, “इरान सम्झौता गर्न निकै उत्सुक छ । हेरौँ, यो कसरी अघि बढ्छ।”

इरानबाट आएको सन्देश प्रत्यक्ष हो वा कुनै मध्यस्थकर्तामार्फत भन्ने प्रश्नमा ट्रम्पले आफूले इरानी पक्षबाट सोझै खबर पाएको स्पष्ट पारे।

यसैबीच, क्षेत्रीय तनाव कम गर्न कूटनीतिक पहलहरू पनि जारी छन्। चीनले अमेरिका र इरानलाई संयम अपनाउँदै वार्ता पुनः सुरु गर्न तथा तनाव कम गर्ने प्रयास गर्न आग्रह गरेको छ।

यद्यपि, युद्ध अन्त्यका लागि ठोस सम्झौता भइसकेको पुष्टि भने भएको छैन। अमेरिकी प्रतिनिधिसभाले पनि मंगलबार इरानमा जारी सैन्य कारबाही अन्त्य गर्न माग गर्ने प्रस्ताव पारित गरेको थियो।