विश्वकर्मा पूजा

आज विश्वकर्मा पूजा, औजारदेखि सवारीसाधनसम्मको पूजाआराधना

एक महिना अगाडि
आज विश्वकर्मा पूजा, औजारदेखि सवारीसाधनसम्मको पूजाआराधना

काठमाडौं । कालिगढ तथा विभिन्न पेशा-व्यवसायमा संलग्न श्रमिकले आज भगवान् विश्वकर्माको पूजाआराधना गरी विश्वकर्मा पर्व मनाउँदै छन्।

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्ने परम्परा छ। यस अवसरमा विभिन्न कलकारखाना तथा उद्योगमा विश्वकर्मा भगवान्को तस्बिर वा मूर्ति स्थापना गरी विशेष पूजाआराधना गरिन्छ।

विश्वकर्मा पर्वका लागि कलकारखाना तथा कार्यस्थललाई विशेष रूपमा सजाउने गरिन्छ। कालिगढ तथा श्रमिकले आफूले दैनिक प्रयोग गर्ने औजार, उपकरण र मेसिनरीको पूजा गर्ने गर्छन्। धार्मिक विश्वासअनुसार यसरी पूजा गर्दा औजार तथा उपकरण लामो समय टिक्ने, कामका क्रममा नबिग्रने र राम्रो काम गर्न सकिने विश्वास छ।

कतिपय स्थानमा बालुवा तथा अन्य सामग्रीबाट निर्माण गरिएको विश्वकर्माको मूर्ति पूजा गरेपछि वाग्मतीको मुहानस्थल सुन्दरीजललगायत शुद्ध स्थलमा लगेर विसर्जन गर्ने चलनसमेत रहेको छ।

धार्मिक मान्यताअनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसबाट जोगाउन विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेका थिए। एकै रातमा समुद्रको बीचमा द्वारका निर्माण गरेको विश्वासका कारण विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा सम्मान गर्ने र पूजा गर्ने परम्परा सुरु भएको प्रा. तोयराज नेपालको भनाइ छ।

प्राचीन भारतवर्षमा चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिएको धार्मिक मान्यता छ। विश्वकर्माले निर्माण गरेको भनिने ‘भेद द्वारका’ भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ।

विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ। वास्तुशास्त्री शिव पोखरेलका अनुसार ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रसम्बन्धी ग्रन्थ विश्वकर्माले नै रचना गरेको विश्वास गरिन्छ।

विश्वकर्माको यही योगदानको सम्झनामा नेपालका कालिगढ तथा श्रमिकले प्रत्येक वर्ष भव्य रूपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वता र सीपको सम्मान गर्ने गर्छन्। यही धार्मिक विश्वासका कारण इञ्जिन जडान भएका विभिन्न यन्त्र तथा सवारीसाधनमा समेत आज पूजाआराधना गर्ने प्रचलन छ।

वास्तुशास्त्रसम्बन्धी पुस्तकका लेखक तथा अध्येताको सम्झनामा वास्तुविद्हरूले आजको दिनलाई ‘वास्तु दिवस’का रूपमा समेत मनाउने गर्छन्।

पछिल्लो समय नेपालमा वास्तुविद्याप्रति चासो बढ्दै गएको छ। चार उपवेदमध्ये एक मानिने स्थापत्यवेदमा वास्तुशास्त्रसम्बन्धी विषय उल्लेख रहेको बताइन्छ। लोपोन्मुख अवस्थामा पुगेको स्थापत्यवेदमा आधारित सहर तथा आवास निर्माणप्रति समेत पछिल्लो समय रुचि बढ्न थालेको छ।