मौसम पूर्वानुमान

मनसुनी र पश्चिमी वायुको प्रभाव, केही प्रदेशमा भारी वर्षाको सम्भावना

२ घण्टा अगाडि
मनसुनी र पश्चिमी वायुको प्रभाव, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा हाल मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।

महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको छ। उक्त प्रणाली आगामी दिनमा थप बलियो हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भाग, मधेस प्रदेश तथा वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्रमा सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा पनि वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

मधेस तथा कोसी र वाग्मती प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा समेत मध्यम वर्षा हुन सक्ने जनाइएको छ।

यसैगरी, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।