'इरान अमेरिकासँग वार्ता र युद्ध दुवैका लागि तयार'

२ घण्टा अगाडि
'इरान अमेरिकासँग वार्ता र युद्ध दुवैका लागि तयार'

काठमाडौं । इरानको संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिका र इरानबीचको तनाव समाधानका लागि वार्ता गर्न तयार रहेको, तर आवश्यक परे युद्धका लागि पनि तयार रहेको बताएका छन्।

संसद्लाई सम्बोधन गर्दै गालिबाफले इरानले मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष वार्ताका लागि आफ्ना सन्देश र सर्तहरू पठाइसकेको जानकारी दिए। उनले भने, “हामीले लड्नु पनि पर्छ र वार्ता पनि गर्नुपर्छ।”

गालिबाफका अनुसार इरानले अघि सारेका सर्तहरू पूरा नभएसम्म वार्ता पुनः सुरु गर्ने र हर्मुज स्ट्रेट खोल्ने विषयमा कुनै सहमति नहुने बताएका छन्।

यसअघि इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाइले पनि कतार र पाकिस्तानमार्फत अमेरिकासमक्ष वार्ताका सर्तहरू पठाइएको बताएका थिए। बीबीसी फारसीका अनुसार इरानले राखेका सर्तमा सबै मोर्चामा युद्ध अन्त्य, रोक्का गरिएका इरानी सम्पत्ति फिर्ता र नौसैनिक नाकाबन्दी हटाउनुपर्ने विषय समावेश छन्।

रेजाइले अमेरिकाले इरानमाथि आक्रमण गरे त्यसको जवाफमा क्षेत्रमा रहेका अमेरिकी आधार तथा सुविधामाथि थप शक्तिका साथ आक्रमण गरिने चेतावनीसमेत दिएका छन्।

आणविक कार्यक्रमका विषयमा रेजाइले इरानले हालसम्म आणविक अप्रसार सन्धि (एनपीटी) बाट बाहिरिने निर्णय नगरेको बताएका छन्। उनका अनुसार यस विषयमा भविष्यको निर्णय अमेरिकाको व्यवहारमा समेत निर्भर रहनेछ।

रेजाइले इरानले आणविक हतियारसम्बन्धी पूर्वनेताको फतवा अझै पालना गरिरहेको र आफ्नो आणविक सिद्धान्तमा परिवर्तन नगरेको दाबी गरेका छन्। यद्यपि, आगामी दिनमा परिस्थिति कसरी अघि बढ्छ भन्ने निश्चित नभएको उनको भनाइ छ।

यसैबीच, रेजाइले साउदी अरेबिया र यमनबीच जारी द्वन्द्व अन्त्य गर्न पनि आह्वान गरेका छन्। उनले यमनका हुथी विद्रोही साउदी अरेबियासँग सम्झौता गर्न इच्छुक रहेको आफूले विश्वास गरेको बताएका छन्।