काठमाडौं । हिन्दु धर्मावलम्बीको महत्वपूर्ण धार्मिक परम्परा सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु हुँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्षमा दिवंगत पितृको सम्झनामा तर्पण, सिदादान तथा पिण्डदान गर्ने धार्मिक परम्परा छ।
नेपाल पञ्चांग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोअनुसार आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्नेछ। धर्मशास्त्रविद् एवं समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्छ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका विभिन्न तिथिमा दिवंगत पितृलाई श्रद्धापूर्वक सम्झिँदै श्राद्ध गरिने भएकाले यसलाई ‘सोह्र श्राद्ध’ भनिएको हो। यस अवधिलाई ‘पितृ पक्ष’, ‘अपर पक्ष’ तथा ‘प्रेत पक्ष’ समेत भन्ने गरिन्छ।
वैदिक सनातन हिन्दु परम्पराअनुसार चाडपर्व, यज्ञयागादि तथा ठूला धार्मिक कार्य गर्नुअघि पितृलाई श्रद्धापूर्वक सम्झने गरिन्छ। पितृ पक्षमा श्राद्ध गरेमा पितृप्रतिको दायित्व पूरा हुने र पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार पितृ पक्षमा श्राद्ध नगर्नुलाई शास्त्रमा दोषका रूपमा व्याख्या गरिएको छ। उनका अनुसार जाताशौच, मृताशौच तथा पत्नी रजस्वला भएको अवस्थाबाहेक सोह्र श्राद्ध नछोड्ने शास्त्रीय मान्यता रहेको छ।
विभिन्न कारणले निर्धारित तिथिमा सोह्र श्राद्ध गर्न नसकिएमा धर्मशास्त्रमा वैकल्पिक व्यवस्था गरिएको धर्मशास्त्रविद्हरू बताउँछन्।
सामान्यतः श्राद्धकर्ताले आफ्ना पिताको निधन भएको तिथिमा श्राद्ध गर्नुपर्ने विधान छ। तर कुनै कारणले निर्धारित समयमा गर्न नसकिएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म श्राद्ध गर्न सकिने व्यवस्था रहेको बताइएको छ।
त्यस अवधिमा पनि गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन श्राद्ध गर्न सकिने विकल्प रहेको छ। कार्तिक कृष्ण औँसीमा समेत सम्भव नभए वृश्चिक सङ्क्रान्ति अर्थात् मंसिरसम्म समय मिलाएर गर्न सकिने उल्लेख धर्मसिन्धुलगायतका धर्मशास्त्रीय ग्रन्थमा रहेको धर्मशास्त्रविद्हरूको भनाइ छ।
आश्विन शुक्ल पञ्चमीपछि पनि अष्टमी, द्वादशी र औँसीका दिन, भरणी नक्षत्र तथा व्यतीपात योग परेको दिन रोकिएको श्राद्ध गर्न सकिने शास्त्रीय विकल्प रहेको प्रा. डा. भट्टराईले जानकारी दिए।
धर्मशास्त्रविद्हरूका अनुसार सोह्र श्राद्ध अपराह्नकालमा गर्नुपर्ने शास्त्रीय व्यवस्था छ। पछिल्लो समय कतिपय पुरोहितले आफ्नो अनुकूलताअनुसार बिहानै श्राद्ध गर्न सुझाव दिने गरेको गुनासो आए पनि बिहान श्राद्ध गर्नु शास्त्रसम्मत नभएको उनीहरूको भनाइ छ।
श्राद्ध निर्धारित तिथिमा र अपराह्नकालमा विधिपूर्वक गर्नुपर्नेमा धर्मशास्त्रविद्हरूले जोड दिएका छन्।
कुनै कारणले लामो समयसम्म सोह्र श्राद्ध गर्न नसकिएमा अर्को वैकल्पिक व्यवस्था पनि रहेको बताइएको छ।
धर्मशास्त्रअनुसार यस्तो अवस्थामा आफैँ वा सम्भव नभए ब्राह्मणमार्फत दैनिक १०८ मन्त्र जप गर्न सकिने व्यवस्था छ। यस्तो जप विधिपूर्वक १० महिनासम्म गर्नुपर्ने बताइएको छ। यसबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।
पितृ पक्ष समाप्त भएपछि दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ। त्यसैले दसैँजस्ता ठूला पर्व मनाउनुअघि पितृलाई तृप्त पार्ने उद्देश्यले सोह्र श्राद्ध गर्ने वैदिक सनातन परम्परा रहेको मानिन्छ।
यस वर्ष गत जेठमा अधिकमास परेकाले सोह्र श्राद्ध र बडादसैँ पर्व अघिल्ला वर्षको तुलनामा केही ढिलो परेको छ।