काठमाडौं । नागढुङ्गा सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने २८४ जना चालक कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सुरुङमार्ग सञ्चालनमा आएदेखि लेन अनुशासन पालना नगर्ने, तीव्र गतिमा सवारी चलाउने, जथाभावी ओभरटेक गर्ने, अनावश्यक हर्न बजाउने तथा सडक अवरोध गर्ने चालकलाई कारबाही गरिएको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले सुरुङमार्ग सञ्चालनमा आएदेखि नै ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाहीको दायरामा ल्याइएको जानकारी दिनुभयो।
सुरुङमार्गभित्र सवारीसाधनको अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर तोकिएको छ। सोहीअनुसार सुरुङमार्गमा गति सीमासम्बन्धी सूचना बोर्डसमेत राखिएको छ। निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाउने चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सुरुङमार्गभित्र स्टन्ट गर्ने, अनावश्यक रूपमा हर्न बजाउने, गलत तरिकाले ओभरटेक गर्ने तथा तीव्र गतिमा सवारी चलाउनेजस्ता गतिविधि हुने गरेका छन्। यस्ता गतिविधिले दुर्घटनाको जोखिम बढाउनुका साथै आकस्मिक अवस्थामा उद्धार कार्यसमेत प्रभावित हुनसक्ने प्रवक्ता सुवेदीले बताउनुभयो।
ट्राफिक प्रहरीले सुरुङमार्ग प्रयोग गर्दा अन्य सडकको तुलनामा थप संवेदनशील भएर सवारी चलाउन चालकलाई आग्रह गरेको छ। प्रहरीले सुरुङभित्र लेन अनुशासन कायम गर्न, निर्धारित गति पालना गर्न, अनावश्यक हर्न नबजाउन तथा ओभरटेक गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
यसैबीच, हिजो मात्रै सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गर्ने १३ जना चालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयअन्तर्गत ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले उनीहरूलाई कारबाही गरेको हो।