धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ फुर्केखालामा शनिबार पाँच घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ।
भोटेकोशीमा आएको बाढीका कारण फुर्केखालामा रहेको पुल बगेपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सडकमा मर्मतसम्भार गर्नुपर्ने भएकाले शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द गरिने भएको हो।
वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकका विभिन्न स्थानमा थप मर्मतसम्भार आवश्यक भएकाले उक्त अवधिमा यातायात सञ्चालन रोक्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।
सडक मर्मतका क्रममा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएकाले प्रशासनले यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
प्रशासनका अनुसार सो अवधिमा धादिङबेँसी–सुनौला बजार–भोर्ले–कोसिखोला–फोस्रेटार–कल्लेरीटार लगायतका वैकल्पिक सडकमार्ग प्रयोग गर्न सकिनेछ।
मर्मतसम्भारको काम सम्पन्न भएपछि सवारी आवागमन पुनः सञ्चालन गरिने जनाइएको छ।