दुर्घटना

नवलपरासी पूर्वमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु

३ हप्ता अगाडि
नवलपरासी पूर्वमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी गाउँपालिका-२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको प्रहरीले जनाएको छ।

बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा ६ जनाको मृत्यु भएको, १० जना घाइते भएका र दुई जना सकुशल रहेको बताइएको छ।

मृत्यु हुनेमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। अन्य पाँच मृतकको पहिचान खुल्न बाँकी रहेको जनाइएको छ।

दुर्घटनामा घाइते हुनेहरूमा गोरखा–९ का ३० वर्षीय हरिशरण थापा, अछाम मंगलसेन–६ का २८ वर्षीय तेजेन्द्र प्रसाद भण्डारी, बर्दिया ठाकुरबाबा–१ की २० वर्षीया आकृति, बाजुरा स्वामीकार्तिक–५ का ३२ वर्षीय पवन बुढा, बर्दिया राजापुर–९ का २८ वर्षीय सञ्जय थारु रहेका छन्।

त्यस्तै बाजुरा स्वामीकार्तिक–१ का २५ वर्षीय प्रेम बम, ललितपुर कुञ्जयोसोम–५ का २९ वर्षीय अनोज खत्री, बर्दिया बाँसगढी–७ का ३६ वर्षीय लालबहादुर कार्की, बाँके नेपालगञ्ज–१६ का ४८ वर्षीय अस्लाम भगवान र सल्यान वनगाड कुपिण्डे–१ का २१ वर्षीय अनिल बुढाथोकी घाइते भएका छन्।

घाइतेहरूको उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको छ।

दुर्घटनाको थप विवरण तथा मृतकहरूको पहिचान खुल्ने क्रम जारी रहेको बताइएको छ।