आजदेखि बडादसैँ सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे

२ हप्ता अगाडि
आजदेखि बडादसैँ सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व बडादसैँ आजदेखि विधिवत् रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै सुरु हुने बडादसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ।

बडादसैँको पहिलो दिन आज घरघरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरिँदैछ। यस अवसरमा पूजा कोठा वा दसैँ घरमा शक्तिस्वरूपा देवी दुर्गाको आह्वान गरी पूजाआराधना गरिन्छ।

घटस्थापनाका दिन बिहान नित्यकर्म सम्पन्न गरी शुद्ध स्थानबाट बालुवा वा माटो ल्याएर पूजा कोठा वा दसैँ घरमा राखिन्छ। त्यसमा विधिपूर्वक जौँ रोप्ने परम्परा छ, जसलाई जमरा राख्ने भनिन्छ।

दुर्गा देवीको प्रिय वस्तु मानिने जौँको अङ्कुरलाई समृद्धिको प्रतीकका रूपमा लिइन्छ। विजयादशमीका दिन टीका र प्रसादसँगै पहेँलो जमरा ग्रहण गर्ने चलन छ। जमरामा जौँबाहेक अन्य अन्न रोप्ने शास्त्रीय विधि नभए पनि कतिपयले कुल परम्पराअनुसार अन्य अन्नसमेत रोप्ने गरेका छन्।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार जमरालाई आयुर्वेदिक औषधिमा समेत प्रयोग गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाको शुभ साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको छ।

दिनभर चित्रा नक्षत्र पर्ने भएकाले शास्त्रीय मान्यताअनुसार मध्याह्नकालको अभिजित् मुहूर्तमा घटस्थापनाको साइत निर्धारण गरिएको समितिका अध्यक्ष सहप्रा.डा. पुरुषोत्तम भट्टराईले जानकारी दिएका छन्।

सूर्योदयकालमा प्रतिपदा तिथि परेको दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यताका आधारमा आजकै दिन घटस्थापना गर्ने निर्णय गरिएको उनले बताए। सामाजिक सञ्जालमा घटस्थापना सोमबार गर्नुपर्ने भन्दै फैलाइएको चर्चा शास्त्रसम्मत नभएको पनि उनले स्पष्ट पारे।

बडादसैँका अवसरमा नवरात्रभर देवी दुर्गाका तीन प्रमुख स्वरूप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजा आराधना गरिन्छ।

महाकालीलाई शक्ति, महालक्ष्मीलाई धनधान्य तथा ऐश्वर्य र महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा छ।

दुर्गा पक्षका अवसरमा देवी दुर्गाले चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीजलगायत आसुरी शक्तिको प्रतीक मानिएका राक्षसको वध गर्न धारण गरेका नौ स्वरूपको विशेष पूजाआराधना गरिन्छ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्षसमेत भनिन्छ। यस अवधिमा घटस्थापनादेखि विजयादशमीसम्म विशेष धार्मिक अनुष्ठान, पूजाआराधना, टीकाजमरा र पारिवारिक भेटघाटका साथ बडादसैँ मनाउने गरिन्छ।