काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको चौथो दिन आज देशभरका हिन्दु धर्मावलम्बीले नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको श्रद्धापूर्वक पूजा आराधना गर्दैछन् । आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा गर्ने धार्मिक परम्परा रहिआएको छ ।
धार्मिक मान्यताअनुसार कुष्माण्डा देवीले भक्तजनका दुःख, कष्ट तथा तीन प्रकारका तापबाट मुक्ति प्रदान गर्छिन् । आध्यात्मिक, आधिभौतिक र आधिदैविक तापलाई निवारण गर्ने देवीका रूपमा कुष्माण्डाको महिमा पुराणहरूमा वर्णन गरिएको छ ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेसँगै दसैँको धार्मिक अनुष्ठान सुरु भएको हो । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिएको थियो । आज चौथो दिन कुष्माण्डा देवीको आराधना भइरहेको छ ।
नवरात्रका नौ दिनसम्म दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्र पाठ गर्ने प्रचलन छ । धार्मिक विश्वासअनुसार यस अवधिमा देवीको उपासना गर्नाले शक्ति, समृद्धि, ऐश्वर्य र ज्ञान प्राप्त हुन्छ ।
नवदुर्गाका नौ स्वरूपमध्ये पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गरिन्छ । यी नौ स्वरूपको आराधनालाई नवरात्रको प्रमुख धार्मिक विधिका रूपमा लिइन्छ ।
नवरात्रको अवसरमा काठमाडौं उपत्यकासहित देशका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआराधना गर्ने भक्तजनको चहलपहल बढ्ने गरेको छ । उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, नक्साल भगवती र शोभाभगवतीलगायत मन्दिरमा भक्तजन पुग्ने गर्छन् ।
त्यस्तै, उपत्यकाबाहिर मनकामना, पलाञ्चोक भगवती, गढीमाई, छिन्नमस्ता, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही र उग्रतारालगायत शक्तिपीठमा पनि नवरात्रका बेला विशेष पूजा तथा दर्शन गर्ने परम्परा छ ।
नौ दिनसम्म गरिएको पूजाआराधनापछि विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाएर दसैँ मनाउने चलन छ । नेपाली समाजमा धार्मिक आस्था, पारिवारिक भेटघाट र सांस्कृतिक परम्परासँग जोडिएको बडादसैँलाई प्रमुख पर्वका रूपमा मनाइन्छ ।