काठमाडौं । बडादसैँ एवं नवरात्रको आठौँ दिन आज दसैँघर तथा पूजाकोठामा नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको पूजा गर्ने वैदिक सनातन परम्परा रहिआएको छ।
धार्मिक मान्यताअनुसार महागौरी देवी सेतो वृषभमा सवार, गोरो वर्णकी र श्वेत वस्त्र धारण गरेकी स्वरूपमा रहनुभएको छ। विभिन्न पुराणमा उल्लेख भएअनुसार भगवान् शिवले ख्यालठट्टामा देवीलाई ‘काली’ भनेपछि उहाँले कठोर तपस्या गरी गौर वर्ण प्राप्त गर्नुभएको र त्यसपछि महागौरी नाम रहन गएको विश्वास गरिन्छ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेसँगै सुरु भएको दुर्गा पूजाअन्तर्गत पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी र सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिन्छ। आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गर्ने परम्परा छ।
नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गरी देवीको आराधना गरिन्छ। देवीको पूजा आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।
नवरात्रका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआराधना गर्ने भक्तजनको भीड लाग्ने गर्छ। दसैँको धार्मिक तथा सांस्कृतिक महत्त्वसँगै शक्तिपीठहरूमा भक्तजनको चहलपहल पनि बढ्ने गरेको छ।
नवदुर्गाको पूजा आराधना गरी दशमीका दिनदेखि सुरु हुने टीका तथा जमरा लगाउने परम्परा कोजाग्रत पूर्णिमासम्म चल्छ। यसरी नेपाली समाजमा बडादसैँ १५ दिनसम्म हर्षोल्लासका साथ मनाउने गरिन्छ।