काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग त्रिपक्षीय शिखर वार्ता गर्ने प्रस्ताव अघि सारेका छन्। प्रस्तावित वार्तामा युक्रेन र अमेरिकाका युरोपेली सहयोगी सहभागी नहुने सम्भावनाले अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा चासो बढाएको छ।
द वाल स्ट्रिट जर्नलका अनुसार पुटिनले अक्टोबर ९ मा ट्रम्पसँग भएको टेलिफोन संवादका क्रममा यस्तो प्रस्ताव राखेका हुन्। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले वार्ताबारे छलफल भइरहेको पुष्टि गरे पनि बैठकको मिति र कार्यसूचीमा सहमति भइनसकेको बताएका छन्। अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्पले पनि प्रस्तावित सम्मेलनमा सहभागी हुने औपचारिक सहमति जनाइसकेका छैनन्।
स्रोतहरूका अनुसार क्रेमलिनले नोभेम्बर १८ र १९ मा चीनको सेन्जेनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको अवसर पारेर त्रिपक्षीय वार्ता आयोजना गर्न सुझाव दिएको छ। रुसी कूटनीतिज्ञहरूले चिनियाँ अधिकारीहरूसमक्ष प्रस्ताव राखेको र ट्रम्प सहभागी भए चीनलाई आपत्ति नहुने संकेत पाएको जनाइएको छ।
यसैबीच, ट्रम्पले आइतबार रुस–युक्रेन युद्ध अन्त्य गर्ने वार्तामा ‘ठूलो प्रगति’ भइरहेको दाबी गरेका छन्। उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई दुई वर्षअघि राम्रो सम्झौता गर्न असफल भएको आरोप लगाउँदै रुसलाई वार्ताको टेबलबाट बाहिर राख्न नहुने बताएका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा आफूले चाहेको समयमा वार्तासम्बन्धी दस्तावेजमा हस्ताक्षर गर्न सक्ने उल्लेख गरेका छन्। यस महिनाको सुरुमा पुटिन र ट्रम्पबीच करिब डेढ घण्टा लामो टेलिफोन वार्ता भएको थियो।
प्रस्तावित त्रिपक्षीय वार्ताले रुस, अमेरिका र चीनलाई युक्रेन युद्धबारे प्रत्यक्ष छलफल गर्ने अवसर दिन सक्ने भए पनि युद्धको प्रत्यक्ष पक्ष युक्रेनलाई नै वार्ताबाट बाहिर राख्ने सम्भावनाले सम्झौताको वैधता र कार्यान्वयनबारे प्रश्न उठ्न सक्छ। यद्यपि, बैठकको औपचारिक टुंगो नलागेकाले वार्ता हुने स्थान, सहभागिता र सम्भावित परिणामबारे अहिले नै निष्कर्ष निकाल्न सकिने अवस्था छैन।