ललितपुरमा भयानक कार दुर्घटना,  ११ हजार भोल्ट प्रवाह हुने बिजुलीको पोल भाँचिएर सडकमा पुग्यो, ३ जना घाइते

एक बर्ष अगाडि
ललितपुरमा भयानक कार दुर्घटना,  ११ हजार भोल्ट प्रवाह हुने बिजुलीको पोल भाँचिएर सडकमा पुग्यो, ३ जना घाइते

काठमाडौं २२ बैशाख । ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बीच सडकमा पुगेपछि यातायात आवागमन बन्द गरिएको छ । पोलमा ठोक्किएको कारमा सवार तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा म्याग्दी घर भएका ४० वर्षीय अमरध्वज पौडेल, ललितपुर गोदावरीका ३२ वर्षीय विशाल विक र सोही ठाउँका २९ वर्षीय मोसेफ लामिछाने छन् ।

उनीहरुको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार विशालको अवस्था गम्भीर रहेको छ । उनको आईसीयूमा उपचार भइरहेको छ । ललितपुर प्रहरीका अनुसार राति ११ बजेर १० मिनेट जाँदा ललितपुर महानगरपालिका २८ हात्तीवनमा बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको थियो ।

 कारको अगाडिको भाग क्षतिग्रस्त भएको छ । तीव्र गतिमा रहेको कार आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको अनुमान छ । ११ हजार भोल्टको करेन्ट प्रवाह हुने बिजुलीको तार टाँगिएको पोल नै सडकको बीच भागमा रहेकाले सवारी आवागमन बन्द गरिएको हो ।