कांग्रेस असन्तुष्ट पक्षको बैठक, ‘अबको बाटो’बारे रणनीति छलफल

२ दिन अगाडि
कांग्रेस असन्तुष्ट पक्षको बैठक, ‘अबको बाटो’बारे रणनीति छलफल

काठमाडौं । नेपाली कांग्रेसमा आन्तरिक विवादबारे सर्वोच्च अदालत ले गगन थापा नेतृत्वलाई आधिकारिक मान्यता दिएपछि असन्तुष्ट पक्ष सक्रिय भएको छ।

पार्टीभित्र असन्तुष्ट समूहको नेतृत्व गर्दै आएका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार दिउँसो बैठक बोलाएका छन्। बैठक दिउँसो ४ बजे खड्का निवासमा बस्ने तय भएको छ।

नेता प्रकाशशरण महत का अनुसार बैठकमा सर्वोच्च अदालतको फैसलापछि अब पार्टीभित्र कसरी अघि बढ्ने भन्ने विषयमा केन्द्रित छलफल हुनेछ। “अदालतको निर्णय आइसकेपछि अब हाम्रो धारणा के हुन्छ र आगामी रणनीति के बनाउने भन्नेमा छलफल हुन्छ,” उनले बताएका छन्।

शुक्रबार राति सर्वोच्च अदालतले गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो । साथै, निवर्तमान सभापति शेरबहादुर देउवा र खड्काले दायर गरेको रिटसमेत खारेज गरिएको छ।

न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बिहीबार र शुक्रबारको सुनुवाइपछि यस्तो आदेश दिएको हो। यससँगै माघदेखि जारी कांग्रेसको आधिकारिकता विवाद कानुनी रूपमा टुंगिएको छ।

तर अदालतको निर्णयसँगै असन्तुष्ट पक्षभित्र भने अन्योल र असन्तोष देखिएको छ। नेता महतले पार्टी एकतामा जोड दिनुपर्ने बताए पनि बिमलेन्द्र निधिले प्रारम्भिक रूपमा सर्वोच्चको आदेशप्रति असहमति जनाएका छन्।

यसबीच थापा नेतृत्वले कांग्रेसको नियमित महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरिसकेको छ। यस्तो अवस्थामा असन्तुष्ट पक्षले कस्तो रणनीति अपनाउँछ भन्ने विषयले पार्टीको आगामी दिशा निर्धारण गर्ने देखिएको छ।

अदालतको निर्णयले कानुनी विवाद टुंगिए पनि राजनीतिक रूपमा भने कांग्रेसभित्रको मतभेद अझै समाधान नभएको संकेत देखिएको छ।