काठमाडौं । देशका अधिकांश क्षेत्रमा तापक्रम क्रमशः बढ्दै जाँदा आज तराई क्षेत्रमा ‘तातो दिन’को अवस्था रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग का अनुसार तापक्रम वृद्धि भएसँगै मधेससहित विभिन्न प्रदेशका तराई भूभागमा अत्यधिक गर्मी महसुस हुने सम्भावना रहेको छ।
विभागले मधेस प्रदेशका साथै वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश का तराई क्षेत्रका केही भूभागमा ‘तातो दिन’को अवस्था रहने जनाएको छ। यस्तो अवस्थामा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।
हालको मौसम अवस्थाअनुसार कोशी प्रदेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि साधारण बदली देखिएको छ भने मधेस र कोशीका तराई क्षेत्रमा आंशिक बदली रहेको छ। अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ।
आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ। यस क्रममा कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही पहाडी तथा हिमाली स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ। त्यसैगरी कर्णाली प्रदेश र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि यस्तै किसिमको मौसम देखिन सक्ने विभागले जनाएको छ।
रातिको समयमा भने हिमाली भूभागमा साधारण बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना कायम रहनेछ।
मौसमविद्हरूका अनुसार तापक्रम अझै बढ्ने क्रम जारी रहने भएकाले विशेषगरी तराई क्षेत्रमा बसोबास गर्ने नागरिकलाई दिउँसोको समयमा आवश्यक सतर्कता अपनाउन, पर्याप्त पानी पिउन र अत्यधिक घामबाट जोगिन सुझाव दिइएको छ।