रास्वपामा संगठनात्मक ‘मेकओभर’को तयारी, आज सचिवालय बैठक

एक दिन अगाडि
रास्वपामा संगठनात्मक ‘मेकओभर’को तयारी, आज सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठनात्मक र संरचनागत सुधारलाई तीव्र बनाउने उद्देश्यसहित सचिवालय बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछाने ले आज दिउँसो ३ः३० बजे केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरेका हुन्।

बैठकमा पार्टीको आन्तरिक संरचना सुदृढ बनाउने, संगठन विस्तार गर्ने र आगामी कार्ययोजनालाई स्पष्ट बनाउने विषयमा व्यापक छलफल हुने बताइएको छ। विशेषगरी आगामी महाधिवेशन र जिल्ला अधिवेशनको तयारीलाई केन्द्रमा राख्दै ठोस निर्णयहरू लिने तयारी गरिएको छ।

प्रस्तावित कार्यसूचीअनुसार ‘जिल्ला अधिवेशन कार्यविधि–२०८३’ पारित गर्ने र महाधिवेशनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन ‘महाधिवेशन कार्यविधि मस्यौदा समिति’ गठन गर्ने विषयलाई प्राथमिक एजेन्डा बनाइएको छ। यसले पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रिया व्यवस्थित गर्ने अपेक्षा गरिएको छ।

यस्तै, बैठकमा केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् गठन गर्ने, संघीय नेतृत्व मञ्च विस्तार गर्ने र विभिन्न विभागहरूमा नयाँ मनोनयन गर्ने तयारी रहेको छ। पार्टी संरचना थप व्यवस्थित र प्रभावकारी बनाउन यी निर्णयहरू महत्वपूर्ण हुने बताइएको छ।

रास्वपाले वित्तीय व्यवस्थापनलाई पनि व्यवस्थित गर्न बैंक खाता सञ्चालनसम्बन्धी नयाँ प्रावधान ल्याउने तथा विभिन्न नीतिगत र प्राविधिक परियोजनाका लागि विज्ञ आह्वान गर्ने विषयमा पनि छलफल गर्ने जनाएको छ।

यसैगरी, प्रतिनिधिसभा सदस्यहरूलाई संगठनात्मक जिम्मेवारी बाँडफाँट गर्ने विषय पनि बैठकको महत्वपूर्ण एजेन्डामा रहेको छ। यसले संसदीय गतिविधि र पार्टी संगठनबीच समन्वय बढाउने लक्ष्य राखिएको छ।

बैठकले आगामी केन्द्रीय समिति बैठकको तयारी, संसदीय दलका लागि आवश्यक प्राविधिक सहयोगको व्यवस्था तथा पार्टी लेवी व्यवस्थापनका विषयमा समेत निर्णय लिने अपेक्षा गरिएको छ।

पार्टीभित्र संगठन विस्तार र संरचनागत सुधारलाई प्राथमिकतामा राख्दै रास्वपाले आगामी दिनमा आफ्नो संगठनलाई थप मजबुत बनाउने संकेत यस बैठकमार्फत दिएको छ।