वीरगंज । डिभिजन सडक कार्यालय हेटौँडा ले वीरगंज क्षेत्रमा सडक अतिक्रमण हटाउने अभियान तीव्र बनाएको छ। आइतबार बिहानैदेखि अतिक्रमित घरटहरा भत्काउने कार्य सुरु गरिएको हो।
वीरगंज का पाँच मुख्य स्थान—गण्डक चोक, पावरहाउस, मुर्ली, घण्टाघर र मकालु होटल चोक—मा एकैसाथ डोजर परिचालन गरेर सडक फराकिलो बनाउने काम अघि बढाइएको छ। बिहान करिब ४ः३० बजेदेखि सुरु भएको अभियानमा १० वटा डोजर प्रयोग गरिएको छ।
यसअघि अदालतको फैसलापछि पनि अतिक्रमण हटाउने काम रोकिएको थियो। तर पछिल्लो निर्णयपछि सडक कार्यालयले वीरगंज महानगरपालिका, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको सहयोगमा पुनः अभियान सञ्चालन गरेको हो।
अभियानलाई प्रभावकारी बनाउन करिब २ हजार २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। सम्भावित विरोध र अवरोधलाई ध्यानमा राख्दै उच्च सतर्कताका साथ कार्य भइरहेको जनाइएको छ।
सडक विस्तार र व्यवस्थापनका लागि लामो समयदेखि अतिक्रमण हटाउने आवश्यकता देखिँदै आएको थियो। यस अभियानसँगै वीरगंजको मुख्य सडक क्षेत्रमा आवागमन सहज हुने र सहर व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ।