काभ्रेपलाञ्चोक । गएरातिको वर्षापछि आएको बाढीका कारण बीपी राजमार्ग पुनः अवरुद्ध भएको छ, जसले यात्रुहरूलाई ठूलो सास्ती दिएको छ।
प्रहरीका अनुसार रोसी खोलामा आएको बाढीले विभिन्न स्थानका डाइभर्सन बगाएपछि सडक पूर्ण रूपमा बन्द भएको हो। काभ्रेपलाञ्चोक जिल्लाका चारसयबेसी, घुमाउने, दाउन्ने र नार्केल क्षेत्रमा बनाइएका अस्थायी संरचना क्षतिग्रस्त भएका छन्।
बाढीले ह्युम पाइपसमेत बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। अवरुद्ध सडक खुलाउन तीनवटा जेसीभी प्रयोग गरी नयाँ डाइभर्सन निर्माण गर्ने काम भइरहेको छ।
अवरुद्ध भएपछि राति १२ बजेदेखि मङ्गलटार, भकुण्डे र काभ्रेभञ्ज्याङलगायत क्षेत्रमा सयौँ सवारी साधन रोकिएका छन्। त्यस्तै सिन्धुली जिल्लाको नेपालथोक क्षेत्रमा पनि सवारी साधन ‘होल्ड’ गरिएको छ।
प्रहरीका अनुसार डाइभर्सन मर्मत गरेर यातायात सञ्चालन गर्न आइतबार दिउँसोसम्म कुर्नुपर्ने अवस्था रहेको छ।
यसअघि २०८१ असोजमा आएको बाढीले भकुण्डेबेँसीदेखि नेपालथोकसम्म करिब २८ किलोमिटर सडक क्षतिग्रस्त बनाएको थियो। सो खण्डमा अहिले पनि पुनर्निर्माण कार्य जारी छ।
सडकको अवस्था कमजोर भएकाले यात्रा अघि जानकारी लिन र सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ। सानो वर्षा हुँदा पनि राजमार्ग पटक–पटक अवरुद्ध हुने समस्याले यात्रुहरू लामो समयदेखि हैरान हुँदै आएका छन्।