रास्वपाको सचिवालय बैठक आज : संगठन विस्तारदेखि महाधिवेशन तयारीसम्म छलफल

एक दिन अगाडि
रास्वपाको सचिवालय बैठक आज : संगठन विस्तारदेखि महाधिवेशन तयारीसम्म छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक बोलाएको छ। पार्टीका सभापति रवि लामिछानेको आह्वानमा दिउँसो साढे ३ बजे केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो।

बैठकमा पार्टीको संगठनात्मक र संरचनागत विषयमा केन्द्रित विभिन्न एजेण्डामाथि छलफल हुने जनाइएको छ। प्रस्तावित कार्यसूचीअनुसार जिल्ला अधिवेशन कार्यविधि–२०८३, बैंक खाता सञ्चालनसम्बन्धी विषय, केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् गठनका विषय समेटिएका छन्।

त्यसैगरी संघीय नेतृत्व मञ्च तथा विभिन्न विभागहरूको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन लगायतका विषय पनि बैठकका प्रमुख एजेण्डामा रहेका छन्।

पार्टीले विज्ञहरू तथा परियोजना प्रस्ताव आह्वान गर्ने विषयसमेत छलफलमा राखेको छ। साथै प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी निर्धारण, केन्द्रीय समिति बैठकको तयारी तथा संसदीय दलका लागि प्राविधिक सहयोग र लेवीसम्बन्धी विषयमा पनि निर्णय हुने बताइएको छ।