काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँ जिल्लामा भएको निर्वाचन परिणामको समीक्षा गर्न आज विस्तारित बैठक आयोजना गरेको छ।
धुम्बाराहीस्थित सूर्य क्याटरिङमा दिउँसो १२ बजेका लागि तय गरिएको बैठकमा पार्टीका सभापति गगन थापा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ।
बैठकमा काठमाडौँ महानगरसहित दक्षिणकाली, कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, टोखा, बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनहरा र शंकरापुर नगरका सभापतिहरू तथा ती अन्तर्गतका बुथ कमिटीका सभापतिहरूलाई अनिवार्य रूपमा उपस्थित हुन भनिएको छ।
पार्टीका अनुसार फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा आएको परिणाम अपेक्षाअनुसार नआएको विषयमा गम्भीर समीक्षा गरिनेछ। बैठकमा त्यसका कारण र आगामी रणनीतिबारे विस्तृत छलफल हुने जनाइएको छ।
बैठकलाई सभापति थापाले निर्देशनात्मक मन्तव्य दिने कार्यक्रमसमेत रहेको छ।