हातहतियार र ज्यानमार्ने उद्योगमा आरोपित निराजन पौडेल (निरे) पक्राउ

एक दिन अगाडि
हातहतियार र ज्यानमार्ने उद्योगमा आरोपित निराजन पौडेल (निरे) पक्राउ

काठमाडौँ । काठमाडौँमा विभिन्न आपराधिक अभियोगमा संलग्न रहेको आरोपमा निराजन पौडेल (निरे) पक्राउ परेका छन्।

प्रहरीका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई ज्यानमार्ने उद्योग, हातहतियार र अभद्र व्यवहारसम्बन्धी मुद्दाको अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार पौडेलविरुद्ध मौखिक तथा लिखित उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो। उनी बिहीबार बालुवाटार क्षेत्रबाट पक्राउ परेका हुन्।

पौडेलले आफू ठेक्कापट्टा व्यवसायमा संलग्न रहेको बताएका छन्। प्रहरीका अनुसार उनी विवादास्पद रूपमा चिनिने चक्रे मिलन समूहसँग सम्बन्धित भई सार्वजनिक शान्ति खलल पार्ने गतिविधिमा सक्रिय रहेको आशंका गरिएको छ।

हाल उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद थप गरिएको छ भने अन्य अभियोगमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।