काठमाडौं । सरकारले आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान सुरु गरेको छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत दुई दिनसम्म सञ्चालन हुने यो अभियानमा लाखौँ बालबालिका लाभान्वित हुने लक्ष्य राखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका अनुसार छ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदैछ। साथै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाविरुद्धको औषधि ‘अलबेन्डाजोल’ पनि दिइँदैछ।
अभियानलाई सफल बनाउन देशभरका विभिन्न स्थानमा खोप केन्द्र स्थापना गरिएको छ। यसका लागि करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको जनाइएको छ।
चिकित्सकहरूका अनुसार भिटामिन ‘ए’ले बालबालिकाको आँखाको दृष्टि सुधार्नुका साथै रोगसँग लड्ने क्षमता बढाउँछ र समग्र वृद्धि विकासमा सहयोग पुर्याउँछ। त्यस्तै, जुकाको औषधिले पेटका किराहरू नष्ट गरी कुपोषण, रगतको कमी, पेट दुख्ने तथा झाडापखाला जस्ता समस्याबाट जोगाउन मद्दत गर्छ।
नेपालमा भिटामिन ‘ए’ कार्यक्रम विसं २०५० मा सीमित जिल्लाबाट सुरु भई २०५९ सालदेखि देशभर विस्तार गरिएको हो। जुकाविरुद्धको औषधि वितरण कार्यक्रम पनि सुरुमा केही जिल्लामा लागू गरिएर पछि सबै जिल्लामा विस्तार गरिएको हो।
प्रत्येक वर्ष कात्तिक र वैशाख महिनामा सञ्चालन हुने यस कार्यक्रमले बालबालिकाको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।