काठमाडौँ । काठमाडौँसहित देशभरको मौसममा हाल विभिन्न मौसमी प्रणालीको संयुक्त प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी तथा स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीका कारण देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको अवस्था बनेको हो।
हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र र कोशी प्रदेशको तराई भागमा पनि आंशिक बादल देखिएको छ।
यतिबेला कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको छ। अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।
सोमबारका लागि गरिएको पूर्वानुमानअनुसार पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने क्रम जारी रहनेछ भने तराईका भू-भागमा आंशिक बदलीको सम्भावना छ। कोशी र गण्डकीका उच्च भू-भागका साथै बागमती र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।
यता पहाडमा वर्षाको सम्भावना रहँदा तराई तथा भित्री मधेस क्षेत्रमा भने गर्मी बढ्ने संकेत देखिएको छ। मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, उपत्यका तथा खोँचहरूमा तातो दिन रहने सम्भावना रहेको छ।
बढ्दो तापक्रम र तातो हावाका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले मौसमविद्हरूले दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन र सावधानी अपनाउन आग्रह गरेका छन्।