काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.१७ अंकले घट्दै २८२५ विन्दुमा झरेको हो। कारोबार सुरु भएको केही मिनेटमै २८४५ अंकसम्म पुगेको बजार त्यसपछि ओरालो लागेको थियो।
कारोबार रकम पनि घट्दै अघिल्लो दिनको ७ अर्ब ४६ करोडबाट ५ अर्ब ४३ करोडमा सीमित भएको छ। आज ६५ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको घट्यो भने ६ कम्पनी स्थिर रहे।
समूहगत रूपमा होटल तथा पर्यटन क्षेत्र मात्रै १.०१ प्रतिशतले बढेको देखियो भने बैंकिङ, फाइनान्स, हाइड्रोपावर, बीमा, उत्पादन लगायत अधिकांश समूहमा गिरावट आएको छ।
आजदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार कम्पनीको सेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुन सक्ने भएपछि सूर्यकुन्ड हाइड्रो, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट र शिखर पावरको मूल्य १५ प्रतिशतले बढेको छ। विश्लेषकहरूका अनुसार नयाँ सर्किट लिमिटले बजारमा उतारचढाव अझ तीव्र बनाउन सक्ने संकेत देखिएको छ।