प्रधानमन्त्रीको उपकुलपतिसँग छलफल : विश्वविद्यालय सुधारका कुरा

२ घण्टा अगाडि
प्रधानमन्त्रीको उपकुलपतिसँग छलफल : विश्वविद्यालय सुधारका कुरा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज देशभरका विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग सिंहदरबारमा सामूहिक छलफल गरेका छन्। प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र ७ प्रतिष्ठानका प्रमुखहरू सहभागी उक्त बैठकमा उच्च शिक्षाका समसामयिक चुनौती र समाधानका उपायबारे विस्तृत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा विश्वविद्यालयहरूमा देखिएका प्रशासनिक जटिलता, शैक्षिक गुणस्तर, अनुसन्धानको अवस्था, जनशक्ति व्यवस्थापन तथा सेवा प्रवाहका समस्या उठाइएको थियो। केही विषय तत्काल समाधान गर्न सकिने देखिएकाले त्यसतर्फ पनि ध्यान केन्द्रित गरिएको बताइएको छ।

स्वास्थ्य विज्ञानतर्फ पाटन, बीपी कोइराला, कर्णाली, पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरू सहभागी थिए भने त्रिभुवन, काठमाडौं, पूर्वाञ्चल, पोखरा, लुम्बिनी बौद्ध, नेपाल संस्कृत, सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्रतिनिधिहरूले पनि आफ्ना धारणा राखेका थिए। सरकारले उच्च शिक्षालाई व्यवस्थित र परिणाममुखी बनाउने लक्ष्यसहित यस्तो संवादलाई निरन्तरता दिने संकेत गरेको छ।