काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूमाथि लागेका आरोपबारे स्पष्टीकरण दिँदै अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले आफू निर्दोष रहेको दाबी गर्दै पार्टी र राज्यका निर्णय मान्ने बताएका हुन्।
सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग व्यावसायिक सम्बन्ध रहेको आरोप र सेयर खरिदसम्बन्धी विवादपछि उनी दबाबमा छन्। उनले भनेका छन्, “लगानी गर्नु अपराध होइन, यसलाई बिचौलियापनसँग जोड्नु गलत व्याख्या हो।”
गुरुङले आफ्नो सम्पत्ति विवरणमा सेयर लगानी खुलाएर राखेको दाबी गर्दै सबै कारोबार बैंकिङ प्रणालीमार्फत भएको उल्लेख गरेका छन्। जेनजी आन्दोलनपछि सेयर खरिद गरेको स्वीकार्दै उनले त्यसलाई कानुनी दायराभित्रको गतिविधि भनेका छन्।
यसैबीच, उनले रास्वपा सभापति रवि लामिछानेसँग भेट गरी विषयमा जानकारी गराएको पनि बताएका छन्।